काठमाडौं, माघ १० । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनायो।
एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए। भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए। सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए।किशोर महतो २५ रनमा अविजित रहे। कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३/३ विकेट लिए। दिवन पुन र राज साहले २/२ विकेट लिए।
आज एपीएफ लगातार तेस्रो जितको खोजीमा रहेको छ। एपीएफले यस अघि प्रदेश-१ र गण्डकीलाई हराएको थियो। समूह ‘ए’ को एपीएफले २ खेलमा ४ अंक जोडेको छ। एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ। कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ। कर्णालीले ३ खेलमा २ अंक जोडेको छ। कर्णाली तेस्रो स्थानमा रहेको छ।


























