काठमाडौं, माघ १० । लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो।
सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीको जितमा सौरभ खनालले अविजित रहदै सर्वाधिक रन १८ रन जोडे। प्रकाश केसी १७ रनमा अविजित रहदा कप्तान कृष्ण कार्कीले १५ रन बनाए।
सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए। विनोद लामाको नाममा एक विकेट रह्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे। कप्तान सन्तोष भट्टले ११ रन जोडे । तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए।
यस्तै अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए। जितसंगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ। लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई ७७ रनले हराएको थियो। दोस्रो खेलमा भने लुम्बिनी पुलिससँग ७४ रनले पराजित भएको थियो।
सुदूरपश्चिमको यो लगातार तेस्रो हार हो। यस हारसंगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो। अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ।


























