काठमाडौं, माघ १० । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ६३ रनको सामान्य लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रनमा समेटियो।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे। कप्तान सन्तोष भट्टले ११ रन जोडे। तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए। यस्तै अनिल खरेल र बिक्रम भुसालले २र२ विकेट लिए। आज लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ।
समूह ‘बी’ को लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई ७७ रनले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी पुलिससँग ७४ रनले पराजित भएको थियो। सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो। अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ।


























