काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १११ रनमै अलआउट भयो।
साविक विजेता समेत रहेको पुलिसको यो लज्जास्पद ब्याटिङ हो। पीएम कपमा पुलिसको यो अहिलेसम्मकै कम स्कोर हो। बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्यो।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए। यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे। बाँकी खेलाडीले दाहोरो अंकमा रन छुन सकेनन्। पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४/४ विकेट लिए। तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए। यस्तै रामनरेश गिरीले २ विकेट लिए।


























