काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह अहिले चर्चामा रहेको छ। माघ ११ गते मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।
मुख्यमन्त्री राईको विवाहको चर्चा आफूभन्दा आधा उमेरकी युवतीसँग विवाह गर्न लागेकाले पनि भइरहेको छ। राई अहिले ४९ बर्षका भए भने ज्याङ्मु अहिले २३ बर्षकी छन्। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। ज्याङ्मुका माता पिता भने हाल अमेरिकामा बस्दै आएको बताइएको छ।
यस अघि मुख्यमन्त्री राईले प्रदेश १ को नामाकारण गरेपछि विवाह गर्छु भनेपनि अहिले आफै विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र सत्तारुढ दल नेकपानै दुई चिरामा विभाजित भएको अवस्थामा विवाह गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री राई यसअघि संबिधान सभा सदस्य र केन्द्रमा मन्त्री पनि भैसकेका छन्।


























