माघ ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहमविरूद्ध १–० को जित निकालेको हो। घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो। खराब ट्याकल गरेपछि एन्टोनी रविन्सन रातो कार्ड खादै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए। चेल्सीले गोलका लागि ७८औँ मिनेटसम्म पर्खनु पर्यो।
मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे। वेन चिलवेलको क्रसमा फुलहमका गोलकिपरले पन्च गर्दा फर्किएको बलमा डिबक्सभित्र रहेका माउन्टले गोल गरेका थिए। पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो। चेल्सीका खेलाडीले गोलका लागि निकै प्रयास गरेका थिए। तर कुनै पनि प्रहार सफल हुन सकेन। पहिलो हाफमा माउन्टकै प्रहार पोस्टमा लागेर फर्किएको थियो। जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लियो। फुलहम १२ अंकसहित रेलिगेशन जोनमै छ। एजेन्सी

























