पुस २६ । घरेलु टिम अष्ट्रेलियाले तेस्रो टेस्टमा भारतलाई जितका लागि ४ सय ७ रनको लक्ष्य दिएको छ। सिड्नीमा आइतबार चौंथो दिन अष्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले विशाल लक्ष्य पाएको हो।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै स्टिभ स्मिथले ८१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्नुस लेबुसचेनले ७३ रन बनाए। कप्तान टिम पेन ३९ रनमा अविजित रहे। डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाएर आउट भए। भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २/२ विकेट लिए।
भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो। भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे। रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए। अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए। जोश हाजलउडले २ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो। घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स खेले। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।
ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लेबुसचेनले शतक बनाउन ९ रनले चुके। उनलाई जडेजाले अज्निका रहानेको हातबाट क्याच आउट गराए। अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २र२ विकेट लिए। मोहमद सिराजको नाममा एक विकेट रह्यो।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १/१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो। एजेन्सी


























