काठमाडौं, पुस २६ । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजै राति १२ बजेदेखि बैठक अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।
हालसम्म चार वटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ। १७ गते अधिवेशन आह्वान भएपछि राष्ट्रिय सभा सुरु भएको थियो । यसरी सुरु भएको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक प्रधानमन्त्रीले आजैबाट सकाएका हुन्।
आइतबार प्रधानमन्त्रीले सम्वोधन गर्दै थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रिय सभामा सरकार र प्रतिनिधि सभा विघटनका विरुद्ध आवाज उठ्न थालेपछि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।


























