पुस २२ । इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ। इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
फेसबुकले इटालीको around नामक एपमा रहेको Nearby नामक फिचर कपी गरेको अदालतको ठहर छ। उक्त फिचरले प्रयोगकर्ताहरुले उनीहरुको नजिक रहेका पसल, क्लब, रेष्टुरेन्ट लगायतका ठाउँहरुका बारेमा जानकारी प्रदान गर्दछ।
यसअघि प्रारम्भिक अदालतले सन् २०१९ मा फेसबुकमाथि गरेको जरिमानाको फैसला पुनरावेदन अदालतले सदर गरेको हो। तर पुनरावेदन अदालतले इटालियन कम्पनीलाई फेसबुकले तिर्नुपर्ने क्षतिपूर्ति रकमको परिमाणमा भने वृद्धि गरेको छ। प्रारम्भिक अदालतले फेसबुकमाथि साढे ३ लाख युरो जरिवानाको फैसला गरेको थियो। फेसबुकका प्रवक्ताले चाहिँ अदालतको निर्णय आफुले प्राप्त गरेको भन्दै त्यसको सावधानीपूवर्क अध्ययन भैरहेको जनाएका छन्। एजेन्सी