हुम्ला, पुस २० । हुम्लामा भारी हिमपात भएको छ। हिमपात भएसँगै तारा एयरको जहाज हुम्ला विमानस्थलमा थन्किएको छ। आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन्। तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो। तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिए।
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ। पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।


























