पुस २० । अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट मा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध टोली होबार्ट हुरिकेन्सले सोमबार आफ्नो आठौं खेल खेल्दै छ। होबार्टले सन्दीपकै पूर्वटोली मेलबर्न स्टार्ससँग खेल्न लागेको हो। यसअघि शनिबार पनि होबार्टले स्टार्ससँगै खेलेको थियो।
उक्त खेल होबार्टको घरेलु मैदान ब्लन्डस्टोन एरेनामा भएको थियो भने आजको खेल पनि त्यहीँ हुनेछ। होबार्ट पिटर ह्यान्डसकम्बको कप्तानीमा मैदानमा उत्रने छ भने मेलबर्नको कप्तानी ग्लेन म्याक्सवेलले गर्ने छन्। लिगमा हरेक टोलीले एकअर्कासँग दुई खेल खेल्ने प्रावधान छ। आजको खेल नेपाली समयअनुसार विहान १०:५० देखि सुरु हुने छ।
शनिबारको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन खर्चदैँ २ विकेट हात पारेका थिए। उनी आजको खेल पनि खेल्ने सम्भावना उच्च रहेको छ। होबार्ट हाल ७ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। ६ खेलबाट ११ अंक जोडेको स्टार्स पाँचौं स्थानमा छ। एजेन्सी


























