पुस १८ । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई हराएको छ। शुक्रबार वेस्ट ह्यामले घरेलु टोली एभर्टनविरुद्ध १–० को जित निकालेको हो। प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्व क्लबविरुद्ध जित निकालेका हुन्।
खेल सकिन ४ मिनेट अघि टोमस सुसेकले वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए। मोयसले ११ वर्ष एभर्टनको प्रशिक्षकको रुपमा बिताएका थिए। उनले सन् २०१३ मा क्लब छाडेका थिए। ‘पुरानो क्लब फर्कनु सधै विशेष हुने गर्छ। मोयसले भने, मैले यसअघि ४ खेल एभर्टनसंग हारेको थिए।’ उनले भने।
‘मैले निकै उत्कृष्ट वर्ष यहाँ बिताए। तर म यो वेस्ट ह्यामबाट फेरी गर्न चाहन्छु। यसको अर्थ अन्य क्लबविरुद्ध समेत यस्तै जित निकाल्न चाहन्छु।’ उनले थपे।
एभर्टनले पछिल्ला ४ खेलमा लगातार जित निकालेको थियो। पराजित बनेसंगै एभर्टनले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। वेस्ट ह्याम २६ अंक सहित तालिकाको दशौं स्थानमा छ। एभर्टन २९ अंक सहित चौथो स्थानमा यथावत छ। एजेन्सी


























