लमही, पुस १६ । संगिता राई र सवनम राईले कसिलो बलिङ गर्दा गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा ७ रन बनाउँदै अलआउट भएको छ।
बिहीबार भएको प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेश ७ रन बनाउँदै अल आउट भएको हो। दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदान प्रदेश १ ले दिएको १४८ रनको बलियो लक्ष्य गण्डकीले ओभर बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७ रन बनाउन सकेको हो। गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले सर्वाधिक ५ विकेट लिइन्। चार ओभर बलिङ गर्दै दुई मेडन ओभरसहित संगिताले ३ रन मात्र खर्चिइन्। त्यस्तै सवनम राईले ४ विकेट लिइन्। उनले तीन ओभर बलिङ गर्दै ३ रन खर्चिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १४७ रन बनाउन सफल भयो। प्रदेश १ का लागि काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलिन् । ५७ बल खेलेकी काजलले ४ चौकाको सहयोगमा ५२ रन बनाउन सफल भइन्।
त्यस्तै ४९ बल खेलेकी रोमाले ८ चौकाको सहयोगमा ५१ रन बनाउन सफल भइन्। बलिङतर्फ गण्डकी प्रदेशका लागि कुसुम गोदारले एक विकेट लिन सफल भइन्। जितसँगै प्रदेश १ समूह ‘बी’को विजेता बनेको छ। प्रदेश १ ले अब समूह ‘ए’को उप(विजेता लुम्बिनी प्रदेशसँग पहिलो सेमिफाइनल खेलमा भेट गर्नेछ।


























