लमही, पुस १५ । दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत प्रदेश नम्बर १ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ। सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो।
प्रदेश १ का लागि काजल श्रेष्ठले ९ बलमा १ रन, रुबिना क्षेत्रीले १२ बलमा १२ रन, रोमा थापाले ८ बलमा ५ रन, अप्सरी बेगमले २८ बलमा ९ रन, लकिता राजबंशीले १२ बलमा ३ रन बनाए। निग्मा तामाङले १६ बलमा ७ रन संगिता राईले ६ बलमा २ रन बनाए। सुदूरपश्चिमका लागि दीपा जोराले दुई साथै कविता कुँवर र कविता जोशीले एक/एक विकेट लिए।
१६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो। जसमा रेवती धामले १५ बलमा ८ रन, रुबि पोदारले ५ बलमा २ रन, रितु कनोजियाले २१ बलमा १ रन, बिन्दु रावलले ८ बलमा २ रन, कविता जोशीले १७ बलमा १४ रन, सम्झना खड्काले ८ बलमा १ रन, डोली भट्टले ६ बलमा ५ रन साथै लक्ष्मी साउदले १२ बलमा ९ रन बनाए। प्रदेश १ का संगिता राईले तीन, सबनम राईले दुई साथै निग्मा तामाङ र रुबिना क्षेत्रीले एक/एक विकेट लिए।
यसअघि समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको थियो। प्रदेश नम्बर १ ले वागमती प्रदेशलाई ४६ रनले हराएको थियो। यस्तै यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।


























