लमही, पुस १५ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा अहिले सुदूूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरको छ। दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको हो।
मौसमका कारण खेल केही समय ढिला सुरु भएको दुई टोलीबीचको खेल १६ ओेभरमा सारिएको थियो। सुदूरपश्चिमका लागि कविता जोसिले सर्वाधिक १४ रन बनाउन सफल भइन्।
त्यस्तै रेवती धामीले ८ रन बनाउँदा डोली भट्टले ५ रन बनाउन सफल भइन्। बलिङतर्फ संगिता राईले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै सवनम राईले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एक–एक विकेट लिन सफल भइन्। आजको खेलमा जित निकाल्दै दुबै टोली सेमिफाइनल नजिक पुग्ने योजनामा रहेको छ।
दुबै टोलीले पहिलो खेलमा सहज जित हात पारेका थिए। सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएको थियो। त्यस्तै प्रदेश १ ले वागमती प्रदेशविरुद्ध सहज जित हात पारेको थियो।


























