पुस १५ । लियोनल मेस्सी बिनाको बार्सिलोना बराबरीमा रोकिएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको हो। चोटका कारण मेस्सी यो खेलमा मैदानमा थिएनन्। उनले रंगशालाबाट हेरिरहेका थिए। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी गोल फर्काए पनि थप गोल गर्न सकेन। ५७ औँ मिनेटमा किकेले एइबरका लागि गोल गरि सुरुवाति अग्रता दिलाए।
त्यसको १० मिनेटपछि बार्सिलोनाका लागि उसमान डेम्बेलेले बराबरी गोल गरे। खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मार्टिन ब्रेथवेटले गोल गर्न सकेनन् र बार्सिलोना जित बिहीन बन्यो। बराबरीपछि १५ खेलबाट २५ अंकसहित बार्सिलोना छैटौँ स्थानमा पुगेको छ। १६ खेलबाट १६ अंकसहित एइबर १५ औँ स्थानमा छ।
ला लिगा अन्तर्गत मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई २–० तथा लेभान्टेले रियल बेटिसलाई ४–३ ले पराजित गर्दा काडिज र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन्।


























