पुस १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो खेलमा जित दर्ता गरेको छ। प्रशिक्षक मिकेल आर्तेताका अनुसार यो जित टिमका लागि फरक विश्व जस्तो बनेको छ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई १–० ले पराजित गरेको हो। अवे मैदानमा भएको खेलमा ६६ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो। यसअघि डिसेम्बर १९ मा एभर्टनसँग पराजित भएपछि १४ खेल सकिँदा आर्सनल रेलिगेशन जोनबाट मात्रै चार अंक माथि रहेको थियो।
तर त्यसपछि अवस्था परिवर्तन हुँदै गएको देखिएको छ। गएको सप्ताअन्तमा उसले चेल्सीलाई ३–१ ले पराजित गरेको थियो। मंगलबार राति भएको खेलमा जित निकालेपछि आर्सनल १६ खेलबाट २० अंकसहित १३ औँ स्थानमा उक्लिएको छ।
लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा बर्नलीले शेफिल्ड युनाइटेडलाई १–० तथा लीड्स युनाइटेडले वेष्ट ब्रोमलाई ५–० ले पराजित गरेको छ। यस्तै अर्को खेलमा साउथह्याम्पटन र वेष्ट ह्यामले गोलरहित बराबरी खेलेका छन्। एजेन्सी


























