पुस १३ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले जित हात पारेको छ। कर्णाली प्रदेशलाई १ सय ४३ रनले पराजित गर्दै प्रदेश २ ले प्रतियोगिताबाट सुखद बिदाई लिएको हो।
दुवै टिम एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेका थिए। दाङको लमहीमा १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ९ विकेट गुमाएर मात्र २२ रन बनायो। कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। ओपनर त्रिशाना विश्वकर्माले ७ रन बनाउँदा अन्य ६ खेलाडी डक आउट भए।प्रतियोगिताभर कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कर्णालीलाई सस्तैमा रोक्न कबिता गौतम र सरस्वती कुमारीले ३ विकेट लिइन्।
यसअघि लमही मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६५ रन बनायो। उसकी अनुराधा चौधरीले सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ्स खेलिन्।
यस्तै, शोभा आलेले २३ रन बनाउँदा बिमला मगर २१ रनको योगदान गरिन्। कर्णालीकी निशा पराजुलीले २ विकेट हात पारिन्। दुवै टोली यसघिनै प्रतियोगिताबाट बाहिरिएका छन्। समुह ’ए’ मा रहेका एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन्। सोमबार दिउँसोको खेलमा एपीएफ र लुम्बिनी भिड्दै छन्। सेमिफाइनल पुगिसकेका दुवै टोली समुह विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्।


























