काठमाडौं, पुस १३ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) समूह एका अन्तिम दुई खेल हुदैछन्। समूह विजेताको प्रतिस्पर्धाका लागि विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश भिड्दैछन्। यस्तै, एक खेल अगावै बाहिरिसकेका कर्णाली र प्रदेश नम्बर दुईले समेत प्रतियोगिताको अन्तिम खेल खेल्दैछन्।
दाङ्गको लमहीमा पहिलो खेलमा कर्णाली र प्रदेश नम्बर २ भिड्दैछन्। दुवै टिमले यसअघिका दुई खेलका फराकिलो अन्तरको पराजय ब्यहोरेका छन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन्।
कर्णाली पहिलो खेलमा एपीएफसंग २ सय ४ रनले पराजित बनेको थियो भने दोस्रो खेलमा लुम्बिनीसंग ९ विकेटको हार ब्यहोरेको थियो। रमाईलो पक्ष कर्णालीका कुनैपनि खेलाडीले खेलमा दोहोरो अंकको स्कोर भेट्न सकेका छैनन्। अन्तिम खेलमा तुलनात्मक रुपका कमजोर प्रदेश २ विरुद्ध खेलाडीलाई दोहोरो अंकको स्कोर छुने अवसर छ।
कर्णालीकै जस्तै अवस्था प्रदेश २ को रह्यो। पहिलो खेलमा लुम्बिनीसंग ९ विकेट र दोस्रो खेलमा एपीएफसंग ८ विकेटले पराजित प्रदेश नम्बर २ लाई समेत अन्तिम खेलका जितको अपेक्षामा छ। दुवै टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। खेलको समय मौसममा धेरै निर्भर छ।
दोस्रो खेलमा दिउसो सवा १ बजे एपीएफ र लुम्बिनी भिड्नेछन्। अघिल्ला दुई खेलमा शानदार जित निकालेका दुई टोलीबीचको नतिजाले समूह विजेता टोलीको टुङ्गो लगाउनेछन। एक खेल अगावै सेमिफाईनल पुगिसकेका दुवै टोलीले समान ४ अंक बटुलेका छन्।
एपीएफको कप्तान सिता राना मगरले गर्नेछिन्। यसअघिका दुवै खेलमा उनी प्लेयर अफ दी म्याच चुनिएकी थिईन्। लुम्बिनी नेरी थापाको कप्तानीमा मैदान उत्रनेछ।


























