काठमाडौं, पुस १२ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओली ४० को दशकपछि निरन्तरमा प्रतिगमनको पक्षमा रहेको आरोप लगाएका छन्।
जसपाले आइतबार राजधानीमा आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै भट्टराईले मुलुकमा लोकतान्त्रिक आन्दोलन हुँदा बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्दै बसिरहेका ओलीको भष्मासुर प्रवृत्तिले संसद् विघटन गराएको बताए। यस्तै भट्टराईले चेपाङ बस्ती भत्काएर अयोध्या बनाउन खोज्ने ओली कम्युनिस्ट हुनै नसक्ने बताए। उनले संसद् विघटन प्रतिगमनकारी, असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले जनप्रतिनिधिमूलक संस्थालाई खेलवाड गर्न छुट कसैलाई नरहेको बताए। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सशक्त खम्बा भाँच्नु भनेको प्रतिगमनलाई थप बल पुर्याउनु हो।’
ओलीको असंवैधानिक कदमको सशक्त प्रतिकार गरिने उनको भनाइ छ। उनले भने, ‘संसद्माथि प्रहार गरिएको छ। हामी यसविरुद्धको आन्दोलन त्यत्तिकै रोक्नेवाला छैनौं। संसद् पुनर्स्थापना हुनैपर्छ।’ उनले सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने बताए। भट्टराईले भने, ‘सभामुखले सबै दलसँग छलफल गरेर संसद् बैठक बोलाउनुपर्छ। त्यसबाट सबै टुंगो लाग्छ।’
भट्टराईले शासकीय स्वरुप, संघीयता, न्यायालयको पुनर्स्थापना जस्ता विषय संविधानमा समेट्न बाँकी छँदाछँदै अहिले आएर कु गरिएको बताए। उनले कांग्रेस उदार लोकतन्त्रका निम्ति सात सालदेखि लोकतन्त्रका पक्षमा लागे पनि अहिले सत्ताको तर मार्न पाइन्छ कि भनेर पर्खिरहेको आरोप लगाए। यस्तै ओली भष्मासुर हुन् भनेको नपत्याउँदा दाहाल–नेपालहरु सडकमा पलेटी कस्न आइपुगेको डा.भट्टराईको भनाइ छ।
झापा आन्दोलन, कांग्रेसको विमान अपहरण, माओवादी आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलन भनेर विभिन्न व्यक्तिमाथि लागेका मुद्दा फिर्ता लिइए पनि नेपालको पुरानो जाति थारुले गरेको आन्दोलनलाई सम्बोधन नगरेको आरोप लगाए।
वरिष्ठ नेता अशोक राईले संसद् भंग गर्ने र चुनाव गर्ने कदम असंवैधानिक रहेको बताए। उनले खड्ग प्रहार गर्नेबाहेक अहिले सबै नेपाली सडकमा रहेको बताए।


























