चितवन, पुस १० । जनता समाजवादी पार्टी चितवनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको छ। संसद् विघटनको विरुद्धमा समाजवादीले चितवन जिल्ला सह इन्चार्ज अजय निरालाको नेतृत्वमा आज शुक्रबार दिउँसो चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल चोकमा पुत्ला दहन गर्नुका साथै फोटो जलाएको हो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको निराला आरोप लगाए। झन्डै दुई तिहाइको नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक द्धन्दलाई लिएर संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको उनले बताए। उनले संसद विघटन संविधान विपरित भएको भन्दै तत्काल खारेजको माग गरे।
कार्यक्रममा समाजवादी पार्टी केन्द्रिय परिसदका सदस्य पदम गुरुङ, चितवनका जिल्ला सचिव बिनोद पौडेल, वरिष्ठ उपाध्यक्ष यदुकृष्ण भट्ट, समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीलगायतकको उपस्थिती रहेको थियो। संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले ७७ वटै जिल्लामा पुत्ला दहन गरेको हो।



























