बागलुङ, पुस ६ । बागलुङको बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्णबहादुर रानासहित २८ र १९ वर्षीया दुई महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो।
आरोपितले मंसिर २८ गते पीडितलाई बोक्सीको आरोपमा मुखमा टेप बाँधी निर्घात कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन्। महिलाको घाँटी, गाला र शरीरका विभिन्न अंगमा चोट लागेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितले पीडित महिलालाई नियोजितरूपमा लामो समयदेखि पटक–पटक मानसिक यातना हुने गरी बोक्सी आरोप लगाउने गरेको पाइएको इन्पेक्टर विजय भण्डारीले जानकारी दिए। महिलाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको थियो।
बोक्सीको आरोप (कसूर सजाय) ऐन–२०७२ अनुसार बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने व्यक्तिलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।


























