काठमाडौं, पुस ५ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको औपचारिक सुरुवात गरेको छ। एनओसीले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत ‘प्राजेक्ट’ २०२०–२०२१ सुरु गरिएको बताएको हो।
आईतबार पत्रकार सम्मेलन गर्दै एनओसीले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने अभिलेखिकरणको परियोजना सुरु भएको जानकारी दिएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यसलाई खेलकुदको ऐतिहासिक दिनको रुपमा ब्याख्या गरे। उनले खेलकुदको ईतिहासलाई जगेर्ना गर्न संग्राहलयको परियोजना सफल हुने विश्वास ब्यक्त गरे।
‘पहिलो चरणको सहयोग अन्तर्गत संग्राहलयको काम अघि बढाएका छौ। पहिलो चरणको सफलतासंगै दोस्रो चरणको काम समेत अघि बढ्छ। उद्धेश्य पुरा नहुन्जेलसम्म यसलाई अघि बढाउने छौ।’ उनले भने।
नेपाल ओलम्पिक कमिटिको अनुरोधमा आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत अभिलेखिकरणको परियोजना सञ्चालन हुन लागेको हो।परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। ओलम्पिक कमिटिले खेलकुदको ईतिहासमा अभिलेखिकृत गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास स्वरुप परियोजना अघि बढाउन लागिएको बताएको छ।
एनओसीले नेपाल ओलम्पिक संग्रहालयसंग मिलेर परियोजनालाई अघि बढाउने छ। कार्यक्रमलाई लिएर मार्चमा एनओसी र ओलम्पिक संग्रहालयबीच सम्झौता भएको थियो।
एनओसीले विभिन्न खेलको सुरुवात, खेलकुद ऐनसंग सम्बन्धित दस्तावेज, एनओसीको ईतिहास, अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले प्रर्दशन, प्रतियोगितासंग सम्बन्धित तस्विर र भिडियो संकलनको प्रयास गरिने बताएको छ।
परियोजनाले नेपाली खेलकुदको डिजिटल आर्काईभको रुपमा आकार लिने र सबैका लागि उपलब्ध हुने उल्लेख गरेको छ। संग्राहलयमा ओलम्पिकसंग आबद्ध खेललाई बढी प्राथमिकता दिईने एनओसीको भनाई छ।


























