चितवन, पुस ५। संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध विवेकशील साझा पार्टीले आन्दोलन गर्ने भएको छ। पार्टी संयोजक मिलन पाण्डेले ट्विट गर्दै आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरिने जनाएका हुन्। प्रदर्शनमा सहभागी हुन उनले आमजनता र लोकतन्त्र पक्षधर सबैलाई आह्वान गरेका छन्।
आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने निर्णय गरेको थियो। उक्त प्रस्ताव स्विकृतिका लागि राष्ट्रपतिसमक्ष पुगिसकेको छ।
विवेकशील साझा पार्टीले सरकारको उक्त कदमलाई घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेकाे छ। ‘यो संविधानमाथिको स्पष्ट ‘कू’ हो,’ विवेकशील साझाका अध्यक्ष रवीन्द्र मीश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन। संसद्बाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसद्लाई छ। सो अधिकारको प्रयोग नै नगरी निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहम्ग्रस्त कदम चालेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्।’ यो कदमलाई झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घातको संज्ञासमेत दिएको छ।
मन्त्रिपरिषद्को सिफारिश सदर नगरी यसपटक आफ्नो पदको गरिमा जोगाउन पनि उसले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष माग गरेको छ। राष्ट्रपति भण्डारीलाई संसद् विघटन सिफारिशबारे संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग तत्काल छलफल सुरू गर्न पनि विवेकशीलले अनुरोध गरेको छ।


























