पुस २ । रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा २ सय ५० गोल पुरा गरेका छन्। बुधबार राति बायर्नले वोल्फ्सबर्गलाई २–१ ले पराजित गरेको खेलमा लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरेका हुन्। पोल्याण्डका ३२ वर्षिका फरवार्ड सो कोशेढुङ्गा पार गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि गेरड मुलर र क्लाउस फिशरले सो उपलब्धि हात पारेका छन्। घरेलु टोलीको जितमा दुवै गोल लेवान्डोस्कीले गरेका हुन्।
खेलमा अग्रता भने वोल्फ्सबर्गले पाँचौ मिनेटमा फिलिपको गोलमा लिएको थियो। पहिलो हाफको ईन्जुरी समयमा लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए। ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले बायर्नलाई जित दिलाएका हुन्। लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगितामा बायर्नका लागि १८ गोल पुरा गरेका छन्। सन् २०१९–२० को सिजनमा उनले ६४ खेलमा ७३ गोल गरेका छन्।
जितसंगै बायर्नले शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी १ अंकमा झारेको छ। बायर्न म्युनिख २७ अंक सहित दोस्रो स्थानमा छ। वोल्फ्सबर्ग २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ। एजेन्सी


























