पुस २ । बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ। बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ। सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ। खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो। त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए। पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए। दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो। पछिल्ला ५ दिनमा बार्सिलोनाले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको हो।
पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ। बार्सिलोनाविरुद्धको खेलको अन्तिम समयमा जोसे र अलेक्जेन्डर जेकको प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगरले असफल बनाईदिएका थिए।
बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दुरी घटाएको छ। शीर्ष तीन क्लबको समान २६ अंक छ। पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ। पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ। उनले पछिल्ला ६ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको थियो।

























