चितवन, मंसिर ३० । थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधि संरक्षण गर्ने ध्येयले सौराहामा थारु गुरौको भेला सम्पन्न भएको छ। थारु आयोग चितवनद्वारा आयोजित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो।
थारु समुदायमा सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जङ्गली जनावरबाट बच्न र बचाउन गुरौको परम्परागत ज्ञानकै सहारा लिने गरिएको छ। “हामीले लकडाउन र क्वारेन्टिन विभिन्न महामारीको समयमा सयौंवर्षदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौं” सहभागी गुरौहरुले भने। उनीहरुले परिवार नियोजनको लागि जडीबुटीकै सहयोग लिने गरेको जानकारी दिए।
सामान्य रोगव्याधिदेखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत रोगको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन्। उनीहरुले थारु परम्परागत ज्ञान, सीप र प्रविधि व्यावसायिकरण र पुस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरे। कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गुरौका ज्ञान, सीप र प्रविधि संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण गर्न आयोगले पहल गरिरहेको जानकारी दिए।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनीतिक पहुँच वृद्धि हुने कार्यक्रमलाई सबै भन्दा प्राथमिकताका साथ अगाडि लैजान सुझाव दिए।
थारु कल्याणकारिणीसभा नवलपरासीका सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भए तापनि सरकारले कानूनी मान्यता दिन नसक्दा लोप हुन लागेको गुनासो गरे। कार्यक्रममा आयोगका उपसचिव अञ्जुसिंह केसीले कार्यक्रमको औचित्यबारे र उपसचिव पद्मनिधि सोतीले आयोगबारे जानकारी प्रस्तुत गरेका थिए।
साहित्यकार डा.कृष्णराज सर्वहारीले थारु गुरौका ज्ञान, सीप र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धी प्रस्तुतीकरण गरेका थिए। रासस


























