काठमाडौं, मंसिर २८ । सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ। आज दिउसो नेकपा स्थायी कमिटी बैठक बस्न लागेको छ। नेकपा कार्यालय धुम्बाराहीमा बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।
बालुवाटारमा दिउसो १ बजे बस्ने बैठकमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ। नेकपा केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ। पूर्वसांसद लामाको मंसिर २४ गते निधन भएको थियो। कोरोना संक्रमण भएका लामाको उपचारका क्रममा निधन भएको थियो।
मंसिर २१ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश भएको थियो। दुवै प्रस्ताव अध्ययन गर्न स्थानीय कमिटी सदस्यहरुलाई एक साताको समय दिइएको थियो।
मंसिर २१ गतेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले पत्र पठाएका थिए। आजको बैठकमा भने प्रधानमन्त्री ओली पनि उपस्थित हुने जनाएको छ। नेकपा विवाद सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ। स्थायी कमिटीमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल हुनेछ।


























