मंसिर २८ । प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ। शनिबार राति एभर्टनले घरेलु मैदानमा चेल्सीलाई १–० ले हराएको हो। गुडसिन पार्कमा झण्डै २ हजार दर्शकलाई साक्षी राखेर एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रालाई समाप्त गरेको हो।
यस सिजन पहिलो पटक एभर्टनको घरेलु मैदानमा दर्शक देखिएका थिए। गिल्फी सिगुर्डसनले २२ औं मिनेटमा गरेको पेनाल्टी गोल चेल्सीलाई स्तब्ध बनाउन पर्याप्त रह्यो। गोलकिपर एडुआर्ड मेन्डीले फरवार्ड डोमिनी काल्भर्ट लेविनलाई डिबक्सभित्र लडाँएपछि एभर्टनले पेनाल्टीको अवसर पाएको थियो।
एभर्टनका प्रशिक्षक कार्लोस एन्सेलोटीले २ हजार दर्शकले खेलको नतिजालाई बदलेको प्रतिक्रिया दिए।
चेल्सीको यस सिजनको यो दोस्रो हार हो। हारसंगै चेल्सी तालिकाको शीर्ष स्थानमा पुग्न असफल रह्यो। चेल्सी २२ अंक सहित तालिकाको तेस्रो स्थानमा रह्यो। एभर्टन २० अंक सहित सातौं स्थानमा रह्यो। एजेन्सी


























