मंसिर २६ । इंग्लिस क्लब आर्सनल शतप्रतिशत जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो।
डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए। खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २-१ को स्थितिमा ल्याए। ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए। खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि रह्यो।
त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो। जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ। डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गर्यो।
यसै समूहको अर्को खेलमा मोल्डेले रापिड विनसँग २-२ गोलको बराबरी खेलेको छ। मोल्डे समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। मोल्डेले ६ खेलमा १० अंक जोड्यो। एजेन्सी


























