मंसिर २६ । यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्ने भएको छ। साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका छन्।
दुबै पक्षको बराबर प्रतिनिधित्व रहनुपर्नेलगायतका प्रमुख विषयमा नै विवाद हुँदा यमनमा संयुक्त सरकार गठन हुन सकेको थिएन। यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणमा सक्रिय एसटीसी विद्रोहीलाई क्रमश साउदी अरब र संयुक्त अरब ईमिरेट्सको सहयोग रहँदै आएको छ।यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौँ हजार सैनिक तथा लडाकूको मृत्यु भएको छ।
दक्षिणी यमनमा सक्रिय साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबै इरान निकट मानिने हुथी समूहसँगको लडाईँमा भने सहकार्य गर्दै आएका थिए। एजेन्सी


























