काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ। गत मंगलबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित गरिएको सचिवालय बैठक आज तय गरिएको हो।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ।
कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए जसको १० दिनपश्चात् बसेको बैठकमा ओलीले आफ्नो जवाफ पेश गर्दै प्रचण्डले लगाएका आरोपहरु अस्वीकार गरेका थिए। त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि तीन दिनसम्मका लागि बैठक स्थगित गरिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको प्रयास गरेकी थिइन् भने ओलीनिकट नेताहरुले प्रचण्डसँग छलफल गर्दै आएका छन्।


























