मंसिर १८। आईफोनमा एउटा ठूलो त्रुटि फेला परेको छ। जसमार्फत ह्याकरले प्रयोगकर्ताको आईफोन प्रयोग नै नगरी उक्त फोनमा भएका सम्पूर्ण डेटामा एक्सेस राख्न सक्नेछन्। गुगलका अनुसन्धानकर्ताले आईफोनमा रहेको यस्तो त्रुटि पत्ता लगाएका हुन्।
अध्ययन अनुसार प्रयोगकर्ताले आईफोनमा के गरिरहेको छ र फोनमा कस्ता सामग्री छन् भन्ने विषयमा सम्पूर्ण जानकारी ह्याकरले संकलन गर्न सक्छन्। आईफोन प्रयोगतर्काले कुनै शंकास्पद लिंक तथा माल्वेयर डाउनलोड नगर्दा पनि यस्तो एक्सेस ह्याकरले लिन सक्नेछन्।
माल्वेयरको हकमा ह्याकरले उक्त आईफोन प्रयोगकर्ताको ईमेल अथवा कुनै एपमा एक्सेस राख्नुपर्ने हुन्थ्यो। तर, पछिल्लो अध्ययनमा ह्याकरले वाईफाइ नेटवर्कमार्फत नै आईफोन एक्सेस पाइरहेको उल्लेख गरिएको छ।
ह्याकरका लागि निश्चित आईफोन ह्याक गर्न समान वाईफाई रेञ्जमा जानुपर्ने हुन्छ। यसको अर्थ ह्याकर र आईफोन प्रयोगकर्ता एउटै वाईफाईबाट जोडिएको हुनुपर्ने भन्ने होइन। ह्याकर यदि आईफोन प्रयोगतर्काले प्रयोग गरिरहेको वाईफाई नेटवर्कको रेञ्जभित्रै छ भने उसले आईफोन प्रयोगकर्तालाई निगरानी गर्न सक्नेछ।
साथै उसको फोनमा भएका डेटामा सहजै एक्सेस प्राप्त गर्न सक्नेछ। यो विषयमा पुरा जानकारी सहित गुगल प्रोजेक्ट जिरोका अनुसन्धानकर्ता आयन बियरले ब्लग नै लेखेका छन्।


























