काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द्र पार्की धनगढीमा सम्मानित भएका छन्। कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले स्वर्णधारी धावक पार्कीलाई बिहीबार २५ हजार नगदसहित सम्मान गरेको हो।
यस्तै कार्यक्रममा राष्ट्रिय खेलुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले पार्कीलाई व्यक्तिगत १५ हजार सहयोग गरेका थिए। यस्तै कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता समेत जनाए।
सम्मानपछि पार्कीले सफलता हासिल गर्न मेहनत गरिरहेको र सम्मानले उर्जा थपिएको बताए।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले उनलाई सहयोग गर्ने बताएका छन्। धावक पार्कीले मंसिर पहिलो साता नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। नेपालगन्ज म्याराथन जित्दै पार्कीले ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।


























