काठमाडौं, मंसिर १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ। छनोटमा २४ जना नयाँ खेलाडी परेका छन्।
बङ्गलादेशसँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले बताए। राष्ट्रिय टोलीको क्याम्पमा विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशीको पुनरागमन भएको छ। एक वर्षअघि तीनै जना एन्फाको अनुशासनको कारबाहीमा परेका थिए।
सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा हुने एएफसी कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन हुनेछ। रासस
Facebook Comments

























