मंसिर १४ । घरेलु टिम अष्ट्रेलियाले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ। सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो। सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले। लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए। पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए।
यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए। मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले। अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे। भारतका मोहमद शामी र हार्दिक पाण्डयले १/१ विकेट लिए।
अष्ट्रेलिया भ्रमणमा रहेको भारत ३ खेलको सिरिजमा १-० ले पछि रहेको छ। शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो। आज अष्ट्रेलिया जित निकाल्दै सिरिजमा कब्जा जमाउन चाहन्छ। भारतलाई भने सिरिज जोगाउन जित्नै पर्ने दबाब रहेको छ। एजेन्सी


























