मंसिर १३ । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ। शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो। केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।
इंग्ल्यान्डको जितमा जोनी बेयरस्टोले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए। दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २र२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। भान डेर डुसेनले ३७ रन जोड्दा कप्तान क्विनटन डी ककले ३० रन बनाए। हेन्रीच क्लासेनले २० रन बनाए । इंग्ल्यान्डका साम करणले ३ विकेट लिए।
जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ। एजेन्सी


























