बेइजिङ, मंसिर १० । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ। आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो।
स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ। कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाई छ।
विदेशबाट आएका व्यक्तिहरुमध्ये शाङ्घाई, फुजियान, गुआङदोङ र शाङ्सीमा कोरोना पुष्टी भएको थियो। मंगलबारसम्ममा चीनको मध्य क्षेत्रमा कूल तीन हजार आठ सय नौं जनामा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये तीन हजार पाँच सय २३ जना डिस्चार्ज भइसकेका छन् भने दुई सय ८६ जना अस्पतालमा उपचार गराइरहेका छन्।
आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन। चीनको मध्य क्षेत्रमा हालसम्म ८६ हजार चार सय ६९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने कूल चार हजार छ सय ३४ जनाको मृत्यु भएको थियो।
अझै पनि तीन सय पाँच जना उपचारका क्रममा रहेका छन् जसमध्ये छ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ। “मेनल्यान्ड चाइना” भनेर चिनिने चीनको उहान समेत मध्य क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर पारेको थियो। रासस


























