चैत्र ५ । उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ। दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ। दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ।
एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२ – बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
खराब मौसमका कारण उद्धार गर्न गएका हेलिकोप्टर अवतरण गर्न समस्या परेको स्थानीय अधिकारीले जनाएका छन्। सोही कारण स्नोमोबिलको प्रयोग गरी घटनास्थलमा टोली पठाइएको जनाइएको छ।
यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो।
‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ।’ प्रवक्ताले भने। एजेन्सी
Facebook Comments