बेइजिङ । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन्। घटनामा ३४ जना घाइते भएका छन्। उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ।
विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ। सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ।
आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ। गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका थिए।