मंसिर १० । इंग्लिस क्लब चेल्सी यूइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले नकआउट चरणमा स्थान पक्का गरेको हो।
रेनसको मैदानमा खेलको २२ औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा सेह्रोउ गुइरास्यले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा ल्याए।
तर, खेलको इन्जुरी समयमा ओलिभर जेरुडले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए। जितसँगै चेल्सीले समूह ‘इ’ बाट दुई खेल अगाबै नकआउट चरणमा स्थान बनाएको हो। चेल्सीले ४ खेलमा १० अंक जोडेको छ। चेल्सी शीर्ष स्थानमा रहेको छ। रेनस १ अंक जोडेर पुछारमा रहेको छ।
यसै समूहको अर्को खेलमा सेभियाले एफसी क्रास्नोडरलाई २-१ ले हराएको छ। सेभियाको जितमा इभान राकिटिच र म्युनिर इल हडादीले एक एक गोल गरे। क्रास्नोडरका वान्डरसनले एक गोल फर्काए। जितसँगै सेभिया पनि नकआउट चरणमा पुगेको छ। सेभियाले ४ खेलमा १० अंक जोडेको छ। सेभिया समूहको दोस्रो स्थानमा रहेको छ। एजेनसी


























