मंसिर ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। लिभरपुलले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ। लिभरपुल र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
घरेलु मैदानमा लिभरपुल लेष्टरलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ। लिभरपुल ८ खेलमा १७ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ। लेष्टरलाई हराउन सकेमा लिभरपुल शीर्षमा उक्लने छन्। तर, लेष्टरविरुद्ध लिभरपुलका मोहमद सलाह मैदान उत्रने छैनन्। उनी कोरोना भाईरसको संक्रमणको कारण आईसोलेसनमा रहेका छन्।
लेष्टर पनि लिभरपुललाई उसैको मैदानमा हराउने लक्ष्यमा हुनेछ। लेष्टर १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। लिभरपुललाई हराउन सकेमा लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लने छ।
प्रिमियर लिग अन्तर्गत नै आर्सनलले लिड्स युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ। यस्तै एभर्टनले फुलहमसँग खेल्दा सेफिल्डले वेस्ट ह्यामसँग खेल्नेछ। एजेन्सी


























