चितवन ६ मंसिर । देशमा गणतन्त्र आएको दशकभन्दा बढी समय बितिसक्दासमेत जनताको पक्षमा काम नभएको भन्दै राष्ट्रवादी चितवन समाजले देशमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताएको छ। शनिबार नारायणगढमा कार्यक्रम नै आयोजना गरेर देशलाई राजसंस्था आवश्यक भएको बताएको हो। दुई तिहाइको बहुमत पाएको सरकारले पनि जनपक्षीय काम गर्न नसकेको भन्दै राजसंस्था फर्काउनुको विकल्प नरहेको कार्यक्रममा सहभागी सदस्य मोहनविक्रम शाहले बताए। ‘राजसंस्था ढालेर आएको सरकारले हामी जनताको लागि के काम गरेको छ भनेर भनिरहनुपर्दैन, जुन छर्लङ्ग छ,’ उनले भने, ‘यतिका वर्षसम्म प्रतिक्षा गर्दा पनि हामीले चाहेजस्तो र देशको हित हुने खालका कुनै पनि काम हुन सकेन। त्यसैले अब राजसंस्था पुनर्स्थापनाको विकल्प छैन।’

कार्यक्रममा बोल्दै अर्का सदस्य पवित्रा जोशीले एउटा राजा हटाएर धेरै राजा जन्मिएकोले जनपक्षीय काम हुन नसकेको बताइन्। एउटा राजा हटेपछि देशमा धेरै थरिका राजाहरुको जन्म भएको र धेरै राजाहरुको बीचमा भएको अन्तरलडाईँले जनताले सुखको सास फेर्न नपाएको उनले बताइन्। ‘हामीले मौका दियौँ र यतिका वर्षसम्म हेर्यौँ,’ उनले भनिन्, ‘तर, प्रतिफलमा जनता खुसी हुन सकेन।’ त्यसैले देशमा राजसंस्था पुनर्स्थापना आवश्यक भएको उनको भनाइ छ। देशमा गणतन्त्र आउनुपूर्वको राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाएर शुरु भएको कार्यक्रममा नारायण सापकोटा, विपिन तन्डुकार, दामोदर श्रेष्ठ, सरोज घिमिरे, जीवलाल पुरी, प्रकाश गैरे, लक्ष्मण कँडेललगायतको पनि उपस्थिति थियो।

























