मंसिर ४ । माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ।यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ। मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन्।
डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ। फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो। यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो। त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे।
२४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ। किनकी फ्लीट्समा अरुले लाइक गर्न, रिप्लाइ गर्न वा रिट्वीट गर्न सक्दैनन्। यस्ता अस्थायी ट्वीटमा प्रयोगकर्ताले रिएक्ट गर्न वा डाइरेक्ट मेसेजद्वारा प्रतिक्रिया जनाउन सक्दछन्। यो भनेको इन्स्टाग्राम तथा स्नापच्याट जस्तै हो।
स्मरण रहोस् यो वर्षको सुरुमै ट्वीटरले पहिलोपटक ब्राजिलमा फ्लीट्स फिचरको परीक्षण सुरु गरेको थियो। ट्वीटर फिडको सबैभन्दा माथिल्लो भागमा यस्ता अस्थायी ट्वीट अर्थात् फ्लीट्स देखा पर्दछन्।
ट्वीटरमा व्यक्त भएका विचार वा गरिएका ट्वीटहरु सम्पादन गर्न पनि नसकिने र एकखालको स्थायी अभिव्यक्तिको रुपमै रहने भएको हुँदा धेरै ट्वीटर प्रयोगकर्ताले मन लागेको कुरा ट्वीट गर्न हिच्किचाउँछन्। प्रयोगकर्तालाई सजिलो अनुभव गराउन र आफ्नो अभिव्यक्ति तथा घटना प्रस्तुत गर्नका लागि दबाब कम गर्न २४ घण्टामा आफैं डिलिट हुने ट्वीटको फिचर ल्याइएको ट्वीटरले आफ्नो ब्लगपोष्टमा जनाएको छ।
ब्लग पोष्टमा उल्लेख गरिएअनुसार यो वर्षको अन्त्यसम्ममा ट्वीटरले आम प्रयोगकर्ताका लागि आवाजमा ट्वीट गर्न सकिने भ्वाइस ट्वीट फिचर, डाइरेक्ट मेसेजमा समेत आवाज पठाउन सकिने फिचर र अडियो स्पेस नामक नयाँ फिचर पनि ल्याउँदैछ। एजेन्सी


























