काठमाडौं, मंसिर ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएको आरोपको छिनोफानो नभई एकता प्रक्रिया अघि नबढ्ने बताएका छन्।
‘आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सहज र सम्भव नहुने कुरासमेत उल्लेख गर्नुभएको छ’, नेकपा सचिवालयको बुधबारको बैठकमा ओलीले राखेको धारणालाई सचिवालय सदस्य ईश्वर पोखरेलले फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
‘नेकपा सचिवालयको बैठकको सार कुरा’ भन्दै पोखरेलले लेखेको स्टाटसमा भनिएको छ( आफूमाथि लगाइएका ‘तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू’लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा।’
ओलीले प्रचण्डको आरोपको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गरेको पोखरेलले उल्लेख गरेका छन्। पोखरेलले अहिलेको गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझ्न र त्यसै अनुसार आफूलाई तयार बनाउन आग्रह गरेका छन्।


























