काठमाडौं, कार्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गुटबन्दी चलाएको आरोप लगाएका छन्। सचिवालय बैठक अगावै अध्यक्ष प्रचण्डलाई पाँच पन्ने लिखित पत्र पठाउँदै प्रधानमन्त्री ओलीले पार्टीको काममा ध्यान नदिएको, गुटबन्दी चलाएको आरोप लगाएका छन्।
गत शनिबार अध्यक्ष प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुले बैठक बोलाउन माग गर्दै दुई पन्ने पत्र पठाएका थिए। सोही पत्रको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको, पार्टी फुटाउन गुटको भेला राखेको उल्लेख गरेका छन्। सचिवालयको बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ।
‘प्रधानमन्त्रीजीले एकलौटी आरोप लगाउनुभएको पत्र हामीले पाएका छौं’, स्रोतले भन्यो, ‘पाँच पन्नको उक्त पत्रको मूल सार प्रचण्ड कमरेडले गुटबन्दी चलाएको आरोप लगाइएको छ।’
आजको बैठकबारे धारणा तय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुसँग बिहीबार नै छलफल गरिसकेका छन्। उनले आजको बैठकबारे रणनीति तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका थिए।


























