काठमाडौं, कार्तिक २६ । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने नेपाल फर्किएर मात्र बिग बास लिगका लागि अष्ट्रेलिया जाने भएका छन्। इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईमा रहेका सन्दीप नेपालमा केहि साता बसेर अष्ट्रेलिया जाने भएका हुन्। सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले लामो समय परिवारबाट टाढा रहेको कारण सन्दीप नेपाल आएर अष्ट्रेलिया जाने जानकारी दिए।
‘सन्दीप विदेशी लिगमा व्यस्त भएको लामो समय भयो। त्यसैले केही समय परिवारसँग बिताउने बताएका छन्,’ रमनले भने, ‘सन्दीप आज बेलुका वा भोली बिहानसम्म नेपाल आइपुग्ने छन्। करिब २० दिन नेपाल बसेर अष्ट्रेलिया जान्छन् होला। बिग बासको टिमसँग कुरा भईरहेको छ।’
बिग बासमा सन्दीपले खेल्ने टिम अझै तय भएको छैन। सन्दीप अनुबन्धका लागि थुप्रै क्लबले चासो देखाएपनि औपचारिक सम्झौता भएको छैन। तर, सन्दीपका व्यवस्थापक रमनले चाडै सन्दीपको टिम तय हुने बताए। यस अघि सन्दीपले मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ। गत भदौमा वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनीडाड एण्ड टोबागो गएका सन्दीप उतैबाट आईपीएलको लागि युएई गएका थिए।
सन्दीप आबद्द टिम दिल्ली क्यापिटल्स मंगलबार भएको फाइनलमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो। पहिलो पटक फाइनल पुगेको दिल्ली ५ विकेटले पराजित भएको थियो। तर, सन्दीपले यस सिजनको आईपीएलमा मैदान उत्रने मौका पाएनन्। लगातार तेस्रो सिजन दिल्लीबाट आईपीएल खेलेका सन्दीप पहिलो पटक एक खेल नखेली घर फर्किनु परेको हो।


























