कार्तिक २६ । चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ। चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो। साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले समस्या नहुने दाबी गरेका छन्।
इन्डोनेशिया र टर्कीमा पनि भइरहेको यो खोपको असरबारे त्यहाँ अहिलेसम्म जानकारी दिइएको छैन। इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको जानकारी दिएको थियो।
२९ अक्टोबरबाटै परीक्षण रोकिएको भए पनि यो विषय भर्खरै सार्वजनिक भएको बीबीसीले जनाएको छ। ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार खोप लगाएका व्यक्तिको मृत्यु भएपछि परीक्षण रोकिएको हो। विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ। एजेन्सी

























