परम्परागत ज्ञान तथा सीपमा नवीनतम् प्रविधिलाई समावेश गरी स्थानीय तवरमा उपलब्ध प्राकृतिक श्रोतसाधनको तर्कसंगत प्रयोग गरी, कुनै किसिमका रसायनमा (रासायनिक मल, किटनाशक वा झारनाशक) निर्भर नरही माटोको उर्वराशक्तिलाई बढावा दिने उद्देश्यले अपनाइने कृषि उत्पादन पद्दति नै जैविक खेती हो। जैविक खेतीको उद्देश्य भन्नु नै रसायनको प्रयोगलाई निरुत्साहित पारी वातावरण तथा प्राकृतिक स्राेतकाे संरक्षण गर्नु, माटोको उर्वराशक्तिमा सुधार ल्याई जैविक विविधताको संरक्षण गर्नु र पारिस्थितिक पद्धतिलाई पुन:स्थापना गरी दिगो कृषिमा टेवा पुर्याउनु हो। हानिकारक रसायन र तिनका शेषले मानव स्वास्थ्य, बाली तथा पशु स्वास्थ्य, माटोमा रहेका सुक्ष्म जीव तथा सिङ्गो पर्यावरणमा पार्न सक्ने नकारात्मक असरलाई कम गरी उपभोक्ता सामु रसायनमुक्त र पोषणयुक्त खाद्यवस्तुको पहुँच बढाउनु पनि जैविक खेतीको अर्को मुख्य उद्देश्य हो। जैविक खेती कृषि बालीमा मात्र नभई व्यवस्थित पशुपालन तथा स्वच्छ र स्वस्थ पशुजन्य उत्पादनमा समेत केन्द्रित रहन्छ।
कृषि जगतमा जैविक खेतीको विकास
मानव सभ्यतामा कृषिले करिब १२ हजार वर्ष लामो यात्रा तय गरिरहँदा विश्वले कृषि जगतमा धेरै खुड्किला पार गरेको छ। ढुङ्गे युगमा सिकार गरेर जीविकोपार्जन गर्ने गरेको मानवजातीले नवयुगमा आएर कृषि पद्दति अपनाएको विश्वास रहेको छ। जंगली अवस्थामा रहेका बालीलाई खेती गरी खाद्य आपूर्तिमा पशुमात्र नभई कृषिबालीको पनि उपभोग गर्न सिक्यो मानवजातीले। झट्ट हेर्दा जैविक खेतीको धेरैथोरै अवधारणा पहिले नै विकास भएको बुझ्न सकिन्छ। किनभने उक्त समयमा रसायनको प्रयोगबारे कुनै किसिमका प्राविधिक विकास भएको थिएन। रैथाने ज्ञान, सीपको प्रयोग गरी प्राकृतिक स्राेतसाधनमै निर्भर रही कम लागतमा परम्परागत खेती पद्दति अपनाइएको थियो, जुन अहिले पनि कतिपय कृषकसामु यथावत् नै छ।
दोस्राे विश्वयुद्धपश्चात् सन् १९५० देखि १९६० को दशकमा भने कृषि क्षेत्रले एक अग्रगामी छलाङ लियो। भविष्यमा आउन सक्ने खाद्य असुरक्षा र व्यावसायिक खेतीका समस्यालाई चुनौती दिन अमेरिकी वैज्ञानिक डा.नर्म्यान बोर्लगले हरित क्रान्तिको अवधारणा अघि सारे। कृषि क्षेत्र त्योबेला बिल्कुलै नयाँ खेती प्रणाली तथा प्रविधिसँग परिचित भयो। रासायनिक मल तथा किटनाशकको व्यापक प्रयोग, ठूलाठूला खनजोतका उपकरणहरू, अधिक उपज दिने धान, गहुँका जात, अनुवंश रुपान्तरण गरिएका जीव (जि.एम.ओ.) आदिका प्रयोगले उत्पादनमा बेजोड नतिजा त हासिल भयो। तर कृषकहरू ती संसाधनको प्रयोगले मानव स्वास्थ्य, पर्यावरण र माटोमा पारिरहेको नकारात्मक असरबारे अनभिज्ञ थिए। खाद्यवस्तुमा अवशेषका रूपमा रहेका रसायनले मानव स्वास्थ्यमा खलल पुर्याउनु त एउटा पाटो रह्यो, अर्कोतर्फ ठूला गह्रौँ उपकरणले माटोमा संरचना बिगारीरहेको थियो, किटनाशकले किराफट्याङ्ग्रासँगै तिनका शिकारी चरालाई समेत सखाप पारिरहेको थियो भने खेतमा अवशेषका रूपमा रहेका रसायन पानीका मुहानमा मिसिन गई जलीय पारिस्थितिक प्रणालीलाई नोक्सान पुर्याइरहेको थियो। यसरी क्षणिक फाइदाको लालचमा गरिएको हरित क्रान्तिले खाद्य आपूर्ती र अधिक उत्पादनमा टेवा पुर्याए पनि दिगो भने रहन सकेन।
यसैको क्षतिपूर्तिस्वरूप केही वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्दमीहरूले सन् १९६० देखि १९७० को दशकमा जैविक खेतीको अवधारणाको विकास गरे। वातावरणविद् रेचल कार्सनको “साइलेन्ट स्प्रीङ्” नामक किताबले डिडिटीको प्रयोगमा प्रतिबन्ध लगाउनसमेत सफल भयो। उद्दमी जे आइ रोडेलले जैविक खेतीको अनुसन्धानमा टेवा पुर्याउन रोडेल इन्स्टिच्युटको स्थापना गरे। जापानी कृषक मासानोबु फुकुओकाको जीवनदेखी प्रेरित, प्राकृतिक खेतीमा आधारित पुस्तक “वन स्ट्र रिवोलुसन” सन् १९७५ मा प्रकाशित भयो। यसबाट धेरै युवा तथा कृषकहरू रसायनको प्रयोग बिना नै गुणस्तरीय तथा दिगो कृषि गर्न सकिने रहेछ भन्नेबारे ज्ञात भए। यसरी कृषि जगतमा जैविक खेतीप्रती कृषक तथा उद्दमीहरूको आकर्षण बढ्दै गएको पाइन्छ।
जैविक खेती किन?
जैविक खेती चार सिद्धान्तमा आधारित छ; स्वास्थ्य, पर्यावरण, निष्पक्षता र हेरचाह। जैविक खेती पद्धति अपनाउँदा मानव, पशु, बाली, माटो र समग्र पर्यावरणको स्वास्थ्यमो ख्याल राखिन्छ। हानिकारक रसायनमुक्त, पोषिलो खाद्यवस्तु उत्पादन र माटोको उर्वराशक्तीको वृद्धि साथै पर्यावरण सन्तुलन नै जैविक खेतीको मुख्य फाइदा हो। भविष्यका पिढीको आवश्यकतालाई मध्यनजर गरी आजको दिनमा तर्कसंगत ढङ्गले प्राकृतिक स्राेतसाधनको प्रयोग र संरक्षण गरी यसले कृषिमा दिगोपन ल्याउन मद्दत गर्दछ। रासायनिक खेतीबाट उत्पादन केही समयको लागि अधिक भए पनि खाद्यवस्तुको आयू तथा पोषणमा सुनिश्चितता जैविक कृषिबाटै पाउन सकिन्छ। रासायनिक खेतीमा प्रयोग हुने रासायनिक मल, किटनाशक विषादी, तथा ठूला उपकरणको उत्पादन तथा निर्माणमा अधिक मात्रामा पेट्रोलियमको प्रयोग भएको हुन्छ, जसलाई परोक्षरूपमा जैविक खेती पद्धतिले निरुत्साहित पारी अनविकरणीय ऊर्जाका स्राेतलाई संरक्षण गरी तीनको उत्पादकत्त्व बढाएर जैविक विविधतालाई बढाउन सहयोग गर्छ। रासायनिक तत्त्वले प्रदुषित पारेका पानीका स्राेतलाई जीवनदान दिन्छ।
जैविक खेतीको अर्को सबल पक्ष भनेको स्थानीय स्राेतसाधनको परिचालन पनि हो। रैथाने जातका बालीको खेतीलाई बढावा दिई सोही ठाउँ, हावापानी अनुकूल बालीलाई विकास गरी “जीन पूल”को विकासमा सहयोग पुर्याउँछ। त्यसैगरी माटोमा कम्पोस्ट मल, जैविक मल, हरियो मल, आदिको प्रयोगले सुक्ष्म जीवको जनसंख्या बढाई उर्वरता बढाउन मद्दत गर्छ। साथै जैविक मलमा पाइने ओसले सिँचाइको आवश्यकतालाई पनि केही हदसम्म कम गर्छ। प्लास्टिक मल्चिङ्, परालको छापो आदि हाल्नाले झार गोडमेल गर्दा लाग्ने श्रमशक्तीको बचत हुन्छ। जैविक खेतीमा एकीकृत कीट व्यवस्थापनको अवधारणालाई प्राथमिकता दिइन्छ, जसअन्तर्गत कृषकले आफ्नै समुदायमा उपलब्ध निम, तितेपाती, बकाइनो, आदिजस्ता वनस्पतीको प्रयोग गरी जैविक किटनाशक उत्पादन गर्छन्। एकातिर शत्रु किराको रोकथाम र मित्रुकिराको संरक्षण हुने भयो भने अर्कोतर्फ कृषकले स्थानीय तवरमै आफूलाई आवश्यक संसाधनको विकास गरी आत्मनिर्भर हुन सफल हुन्छन्।
दिगो कृषिमा जैविक खेतीको भूमिका
दिगो कृषिको शाब्दिक अर्थ हुन्छ लामो समयसम्म गरिने कृषि। भावी पिढीको आवश्यकतालाई मध्यनजर गरी आजको पिढीको मागलाई पूरा गर्ने उद्देश्यले अपनाइने कृषि पद्धति नै दिगो कृषि हो। माटो सुधार, जलश्रोतको संरक्षण, अनवीकरणीय ऊर्जाका श्रोतको संरक्षण, खाद्य सुरक्षाको सुनिश्चितता आदिले दिगोपन झल्काउँछन्। जैविक खेतीले दिगो कृषिका सम्पूर्ण आवश्यकतालाई पूरा गर्दछ। नेपाल सरकारले दसाैँ पञ्चवर्षे योजनादेखि मात्र दिगो कृषिको अवधारणालाई प्राथमिकता दिएको पाइन्छ। जसअन्तरगत हरितक्रान्तिकै अवधारणाअनुरुप रासायनिक मल, किटनाशक तथा कृषि उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनेका छन् भने जैविक कृषिको अवधारणा एकदमै नौलो बनेको छ। केही कृषि उद्दमीहरू जैविक खेतीतर्फ आकर्षित भएता पनि आवश्यक ज्ञानको कमी, झन्झटिलो प्रमाणिकरण प्रक्रिया, बजार भाउको अनियमितता, तथा कमजोर बजार व्यवस्थापनले गर्दा प्रतिस्पर्धात्मकरूपमा गति पकड्न भने सकिरहेको अवस्था छैन। राज्यले जैविक कृषिलाई सरल बनाउने पहल गर्न सकेको खण्डमा आयातित रासायनिक मलको भरमा कृषकलाई खेती गर्नुपर्ने आवश्यकता नै पर्नेछैन। स्थानीय स्राेतसाधनलाई नै परिचालन गरेर राज्यले कृषि प्रणालीलाई दिगोपनतर्फ मोड्न सफल रहने कुरामा दुईमत छैन।
(छैठौं सत्रान्त, कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस।)























