काठमाडौं, कार्तिक २२ । नेपाली काँग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बस्दै छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन पदाधिकारी बैठक बस्न लागेको हो। केन्द्रीय समिति बैठक बस्नु अघि देखिएका विवाद समाधान गर्न पदाधिकारी बैठक बोलाइए पनि नेताहरुबीच सकारात्मक छलफल हुन सकेको छैन।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हिजो बसेको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रका विषयमा छलफल भए पनि सहमति जुट्न सकेन। बैठकमा सहभागी नेताहरुका अनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राख्नु भएको थियो।
तर सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागि हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। आजको बैठकमा विवादलाई हल गर्ने गरि छलफल गरिने नेताहरुले बताएका छन्।
बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ।


























